जिवनको मूर्त अमूर्त भावना अनि भौतिक बस्तुहरु समेटेर गरिने विशुद्ध नेवार संस्कृति हो म्हः पूजा । यो पूजा हिन्दु र बौद्ध परम्परा भन्दा भिन्न छ ।
सामान्यतया म्हः पूजा भन्नाले शरिर पूजा भन्ने बुझिन्छ । तर यो शरिर पूजा मात्र नभएर यो आत्म पूजा, आन्तरिक ज्योति जगाउने, आत्म शुद्धिकरण, चेतनाको शुद्धिकरण पनि हो ।
दार्शनिक महत्व
ईश्वरको सर्वशक्तिमान अवस्था ( Omnipotent ), सर्वव्यापि अवस्था ( Omnipresence ) लाई म्हः पूजाले अंगीकार गरेको पाईन्छ । त्यसै गरि प्राणी मात्रमा सर्व श्रेष्ठ, चेतनशील मनुष्य (आफू ) लाई सर्वव्यापि मध्ये एक प्रतिकको रुपमा पूजेको भन्ने भनाई छ ।
अर्को तर्फ आत्मा अमर छ, यो कहिले पनि मर्दैन । खालि यसले आवरणको रुपमा शरिर मात्र फेर्छ भन्ने विश्वासका साथ आत्म पूजा गर्ने भनिन्छ ।
त्यसरि नै यो पूजाले अन्तहीन संसारको अवधारणा लिएको छ । न अन्त छ न शुरु छ भन्ने कुरा ले आत्मसाथ गरेको छ । यसको पुष्टि भनेको जजंका ( अन्तहिन धागो ) को यस पूजामा प्रयोग हुनुले गर्छ ।
परम्परा- बिधि- अर्थ
मण्डप ( मण्डल )
पूजाको तयारीको रुपमा मण्डप वा मण्डल बनाउने गरिन्छ । मण्डपले ब्रह्माण्डको प्रतिनिधित्व गर्छ । यसमा पृथ्वी, सारा ग्रह, तारा, तारापुञ्ज, नक्षत्र, आकाश गंगा, सृष्ट्रिको सारा समष्ट जिव जन्तु पनि समेटिएको हुन्छ । यसमा गोलाकार मण्डपमा बिभिन्न रंगविरंग पोटायका कोठा कोठाहरु हुन्छन । जुन खगोलिय नक्शाको प्रतिक रुपमा छ ।
लः मण्डः ( पानी मण्डल )
मण्डपमा पानीको प्रयोग गरेर मण्डप बनाईन्छ । यसलाई शुद्धताको प्रतिकको रुपमा लिईन्छ ।
चिकं मण्डः ( तेल मण्डल )
पानी पछि तेल मण्डल बनाईन्छ । तेल चाँडै नसुक्ने भएकोले यसले दिर्घकालिन अस्तित्वको प्रतिनिधित्व गर्छ ।
सगुन अर्थात मंगल
यो पूजा अष्ट मंगल अथवा आठ मंगल पूजा विधि अनुसार हुने भनिन्छ ।
ति यस अनुसार क्रमवद्ध छ ।
१. मण्डल पूजा - सारा ब्रह्माण्ड, सारा सृष्टिको पूजा
२. खेलु ईताः ( मतः) पूजा - आत्म ज्योति पूजा
३. म्ह पूजा ( आत्म पूजा ) - मानविय मूल्य, मान्यता र सम्मानको पूजा
४. धौ सगं ( दहि सगुन ) - यो टिका दहिमा मुछेर दिने गरिन्छ । दहिले पूर्णीमा प्रतिनिधित्व गर्छ भन्ने विश्वास छ । दहि सगुन धारणकर्तालाई अन्ध्यारोमा पनि पूर्णीमा जस्तो प्रकाशमय होस भनेर कामना गरिन्छ ।
५. सीः ( फलफूल ) - फलफूलमा बिउ हुने र यसले उत्पादनशीलतालाई प्रतिनिधित्व गर्छ । जसले यो सगुन प्राप्त गरेको हुन्छ, उसलाई उत्पादनशील होस भन्ने कामना गरिन्छ ।
६. वसः ( वस्त्र ) - यो सगुनको रुपमा कपडा वा लुगा दिने गरिन्छ । यो दिएर आधारभूत आवश्यकताबाट कहिलेपनि वंञ्चित हुनु नपरोस भनेर कामना गरिन्छ ।
७. मरी ( मिठाई ) - यो सगुनमा मिठाई प्रदान गरिन्छ । यो प्रदान गर्दा जिवन मिठासले भरिपूर्ण होस भनेर कामना गरिन्छ ।
८. खेँय सगं ( अण्डा सगुन ) - यसमा ५ प्रकारका बस्तु समावेश हुन्छ ।
न्याः ( माछा ) - पानीमा बस्ने माछा, जसले जलको प्रतिनिधित्व गर्छ ।
ला ( मासु ) - मासु जमीनमा बस्ने कुनै जन्तुको हुने भएकोले यसले थलको प्रतिनिधित्व गर्छ ।
खेंय ( अण्डा) - अण्डा पंक्षीको चिनो र यसले आकाशको प्रतिनिधित्व गर्ने गर्छ ।
वः ( वारा ) - मासको अथवा मुगको वाराले आसन वा अडिगता, स्थिरता प्रतिनिधित्व गर्छ ।
अयला ( रक्सी ) - यसले उर्जाको प्रतिनिधित्व गर्छ ।
यो सगुन धारणकर्तालाई जल, थल, आकाश तिनै लोकमा जहा गएपनि जय होस भनि कामना गर्ने गरिन्छ ।
अन्य अर्थपूर्ण बस्तु र विधि
तसीः ( विमिरो ) Citron - यो फलफुलमा सब फलफुलको गुण समाबेश भएको मानिन्छ ।
खोसी ( ओखर ) - Wallnut यो प्रदान गरेर जिवन सुरक्षित होस । सुरक्षा कडा ओखरको आवरण जस्तो होस भनेर कामना गरिन्छ ।
जंजका - टुप्पो र फेद नभएको धागो । यसलाइ प्रदान गरेर अन्तहिन संसारको जानकारि दिने भनिन्छ ।
ग्वय स्वाँ ( मखमलि फुल ) - यो फुल नओईलिने विश्वास गरिन्छ । त्यसरि नै जिवन पनि सदा सदाको रहोस भनेर कामना गरिन्छ ।
आध्यात्मिक स्नान - म्हः पूजा गर्दा काठको पाथीबाट बिभिन्न फुल, फलफुल आदि राखेर टाउकोमा खन्याईन्छ । यसलाई स्नान गराउने भनिन्छ । यो स्नान आध्यात्मिक स्नान हो । आकाशिय दैविक उर्जाको वर्षा गरेर स्नान गराएको मानिन्छ । A shower of cosmic rays.
पूजा सम्पन्न गर्ने तरिका
क्रमसंग मण्डल अगाडि राखेर उमेर अनुसार वरिष्ठ मर्यादाक्रम अनुसार पूजा गराउने ब्यक्तिहरु वस्छन । नोकु ( महिला प्रमुख ) को नेतृत्वमा यो पूजा संम्पन्न हुन्छ ।
मण्डप बनाउँदा कम्तिमा अगाडि र पछाडि दुईटा मण्डप बनाउने चलन छ । अगाडि आगन देवता वा गणेश र पछाडि मृत्यु देवताको दूतको लागि भनिन्छ ।
No comments:
Post a Comment
कुनै प्रतिकृया छ कि ?