Saturday, November 12, 2016

नेपाल संवत....Pramod Shrestha

संवत भन्ने बित्तिकै समय संग सम्बन्धित छ भन्ने बुझिन्छ । समय भनेको कुनै पनि परिवर्तनको चेतना हो भनिन्छ । सेकेण्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना, वर्ष आदि सबै समय वा परिवर्तनको चेतना हो ।
त्यसैले संवत भन्नाले समय वा तिथि मिति टिपण वा भनौं मापन गर्ने बिधि भनेर बुझ्नु पर्दछ ।
संवत तिन किसिमको भएको पाईन्छ ।
१. सौर्य संवत ( Solar Calendar ) :
यो संवत सूर्यको स्थानको आधाररित छ । एक वर्षमा ३६५ र ३६६ दिन हुन्छ । ईस्वी संवत र विक्रम संवत यसको उदाहरण हो ।
२. चाँन्द्र संवत ( Lunar Calendar ) :
यो संवत चन्द्रमाको स्थानमा आधारित छ । यसमा चन्द्रमाले पृथ्वीको सापेक्षित एक चक्कर परिक्रमा गरेको समय एक महिना हुन्छ । एक वर्षमा ३५४ दिन हुन्छ । ईस्लामिक हिजरी संवत यसको उदाहरण हो ।
३. चाँन्द्र-सौर्य संवत ( Sino-Lunar Calendar ) :
यो संवत चन्द्रमा र सूर्यको स्थानमा आधारित छ । पहिलो वर्ष ३५४, दोश्रो वर्ष ३५५ र तेश्रो वर्ष १३ महिना हुन्छ र जम्मा ३८४ दिन हुन्छ । तिन तिन वर्षमा सालाखाला औसत एक वर्षमा ३६५ दिन हुन्छ । नेपाल संवत यसको उदाहरण हो ।



नेपाल संवतको ईतिहास :
नेपालमा पहिला शाक्य संवत, मानदेव संवत, अंशुवर्मा संवत प्रयोग गरेको भनिन्छ । नेपाल संवत 20 October 879 AD देखि शुरु भएको हो । राजा राघवदेवले यो संवत आधिकारिक रुपमा चलाएका थिए ।
तत्कालिन भक्तपूरका राजा आनन्ददेवले राज ज्यातिषको सल्लाह वमोजिम शुभ साईतको वालुवा सुन बनाउन काठमाण्डौं मरु टोल तल विष्णुमति भचाः खुशी ( लखु तीर्थ ) बाट वालुवा लिन भरिया पठाएका थिए । काठमाण्डौंका बाठो बेपारीलाई भक्तपूर देखि वालुवा लिन काठमाण्डौं आएकोमा शंका लागेर भरियालाई फकाएर साईतको वालुवा आफ्नो घर लगेका थिए । भरियाले फेरि अर्को वालुवा लिएर गए भने घरमा भएको वालुवा भोलिपल्ट सबै सुन भए । राजाको अनुमति लिएर उक्त सुन प्रयोग गरेर सारा देशको ऋण तिरि दिएका थिए । पूरा देश ऋण मुक्त भएको खुशियालिमा नेपाल संवत चलाएको मानिन्छ । भनिन्छ मनोहरा स्थित ऋण मोचन शीलामा बसेर उक्त सवैको ऋण चुक्ता गरेका थिए । उक्त समय शाक्य संवत प्रचलन थियो र ८०२ चलिरहेको थियो । नजिकको ८०४ जुन संख्या ८ संग १२ जोडिएको संख्या र अशुभ मानिने भएकोले यस अशुभवाट वच्न पनि राजाले नेपाल संवत चलाएको भनिन्छ । पृथ्वी नारायण शाहले आक्रमण गरेर गोर्खा राज्य विस्तारण गर्ने क्रममा उपत्यका कब्जा पछि नेपाल संवत ८८८ मा फेरि शाक्य संवतको प्रचलन भयो । तैपनि समानान्तर रुपमा नेपाल संवत पनि प्रचलित थियो । तर सन १९०३ मा चन्द्र शम्शेरले विक्रम संवत प्रचलनमा ल्याएर नेपाल संवतलाई प्रतिबन्धित हरेका थिए ।

संघर्ष र आन्दोलन
प्रतिबन्धित भएपछि १७ बर्ष पछि पहिलो पल्ट सन १९२० मा नेपाल संवतको पक्षमा आवाज उठ्यो । एक बुद्धिष्ट धर्मादित्य धर्माचार्यवाट भारतको कलकत्तामा उठेको आवाज पहिलो संघर्ष मानिन्छ । निरन्तर संघर्ष चल्यो । पछि सन १९७९ मा नेपाल भाषा मंका खलः को स्थापनापछि यो आन्दोलनले गति लियो र ठूलो छलाङ मार्न सफल भयो ।
पहिलो उपलब्धि : सन 1999 November 18 का दिन नेपाल संवतका प्रवर्तक शंखधर शाख्वालाई राष्ट्रिय बिभूति घोषणा गर्यो । 26 October 2003, Post Stamp.
दोश्रो उपलब्धि : अन्तत्वगत्व सन 2007 नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता प्राप्त भयो ।
यद्यपि यो संवतको ब्यबहारिक प्रयोजन भएको छैन । व्यवहारिक प्रयोजनको लागि संघर्ष जारी छ ।

व्यवहारिक पक्ष र यसको प्रयोग
संसारमा प्रचलित कुनैपनि संवत कमी कमजोरीबाट मुक्त छैन । किनकि सवभन्दा व्यबहारिक मानिएको ईस्वी संवतले पनि क्रिशियन पर्व Easter लाई एकै दिन पार्न सक्ने गरेर व्यवस्थापन गर्न सकेको छैन । हुनत आज व्यबहारिक भनिएको ईस्वी संवत पनि एकै पल्ट आजको स्थितिमा आएको होइन । Julian Calendar मा ३६५ दिन हुँदै, यसलाई सुधार गरिकन Gregorian Calendar ले Leap Year चार वर्षमा एक दिन थप गरेर सुधार गरेको पाईन्छ ।
नेपाल संवतको पनि कमी कमजोरी छ ।
नेपाल संवतको व्यवहारमा प्रयोग हुन सक्दैन भन्नेहरुले यस्ता निम्न कमीकमजोरीलाई
उचालेको पाइन्छ ।
१. तिथि टुट हुन सक्ने
२. तिथि दोहरिन सक्ने
३. तिन वर्षमा एक महिना थप हुने ।
दुई मत छैन तिथि मिति मापन र रिकर्ड गर्दा तिथि टुट र दोहरिदा समस्या हुन्छ । तर एक पल्ट चन्द्र स्थानमा नै आधारित ईस्लामिक संवत जसमा न त तिथि दोहरिन्छ न त टुट नै हुन्छ; अध्ययन गरेर सुधार गर्ने हो कि ? यसमा २९ र ३० दिन भएका महिनाहरु पालो पालो आउन्छन र ३५४ दिन हुन्छ । यसरि तिथि टुट र दोहरिने समस्या समाधान हुन सक्छ ।
रह्यो तिन वर्षमा एक महिना थप यसले पनि केहि असर हुन्दैन । यो त चन्द्र वर्ष र सूर्य वर्ष बिचमा भएको दिनमा फरक मिलान गर्न राखिएको प्रावधान हो ।
अन्तमा, नेपाल संवत आफै देशको नाममा छ । यो कुनै राजा या महाराजाको नाममा छैन । यो संवत नेवारको मात्र हो भन्ने भ्रम वाकि छ, यसलाई चिरेर सबै नेपालीको ठानेर भारतको विक्रम संवत त्यागेर नेपालको मौलिक संवत नेपाल संवत लागु गर्नु पर्छ ।
न्हू दँया भिन्तुना

No comments:

Post a Comment

कुनै प्रतिकृया छ कि ?